पुष १५ अर्थात् गुरुङहरुको “ल्हो-क्षार”
सौरमण्डलमा उपस्थित तथा अन्य ग्रहहरुको गति र स्थितिले मानवीय जीवनमा ठूलो प्रभाव पार्दछ । प्राचीनकालमा जब बैज्ञानीक अविष्कारहरु शैशव अवस्थामै थिए त्यस बेला त यिनको महत्व झनै बढी थियो । समयनिर्धारण तथा ऋतुपरिवर्तन जस्ता सिद्धान्तहरुको प्रतिपादनमा यी आकाशीय पिण्डहरुको ठूलै महत्व हुन्थ्यो । यो तथ्य त र्सवविदित नै छ कि रात र दिनको निर्माणमा पनि यी खगोलीय पिण्डहरुको अह्म भूमिका रहन्छ । मौसम र समय परिवर्तनमा त यिनको प्रभाव झनै प्रत्यक्ष देख्न सकिन्छ । प्राचीनकालमा यस प्रकारका ज्ञान र बिज्ञानले निकै ठाउँ पाउँथ्यो । प्रत्येक वर्ष पुष १५ को दिन गुरुङहरुले मान्ने “तोल-लो-क्षार” पनि यसैको उपज हो । गुरुङहरु के कुरामा विश्वास गर्छन् भने- पुष १५ देखि पृथ्वीको उत्तरी गोलार्दमा सुर्यको किरण सोझो पर्न थाल्दछ र रात लामो र दिन छोटो हुने क्रम अन्त भई रात छोटो र दिन लामो हुने क्रम आरम्भ हुन्छ । त्यसकारण संसारैभरिका गुरुङहरु पुष १५ को दिन पुरानो ल्हो (वर्ग) लाई बिदा गर्दै नयाँ ल्हो (वर्ग) को स्वागत गर्छन् र यसैलाई नयाँ वर्षअर्थात् “ल्हो-क्षार” को रुपमा खुशीका साथ मनाउँछन् ।
पूर्बी नेपालका शेर्पाहरु यस पर्वलाई “शरब-लोसर” भन्न रुचाउँछन् । यस विषयमा वि सं २०६४ पुष १४ गतेको गोरखापत्र दैनिकीमा प्रा. श्यामसुन्दर शेर्पा लेख्नु हुन्छ- “लोसर शब्द शेर्पा भाषाका ‘लो’ (संवत्सर/वर्ष) तथा ‘सर’ (उदाउनु/पूर्व) भन्ने शब्दहरुबाट संयोजित भएको हुनले यसको अर्थ घाम उदाउने ठाउँको/पूर्वको चार्डपर्व हुन्छ ।”पाठकहरु याद राख्नुस कि शेर्पा भाषामा “लो” ले वर्ष र “सर” ले पूर्व दिशाको अर्थ दिन्छ । अर्थात “लोसर” भनेको पूर्वको चाड अथवा पूर्वमा बस्ने शेर्पाहरुको चाड भन्न खोजिएको हो । प्रा. श्यामसुन्दर शेर्पाले यस पर्वलाई मात्र शेर्पा हरुको चाड हो भनेर दर्शाउनको निम्ति निकै घुमाएर माथिको परिभाषा त दिनु भयो । तर वहाँले यस पर्वबारे दिनु भएको परिभाषाले यस पर्वको मर्म र अर्थलाई कतै पनि छुदैन। वास्तवमा यो पर्व पूर्वमा बसोबास गर्ने शेर्पाहरुको मात्र होइन । पश्चिमी नेपालतिरका गुरुङ,थकाली साथै अन्य भागतिर बसोबास गर्ने तामाङ, जिरेल, हृयोल्मो र लेप्चाहरुको पनि हो । त्यसकारण यस पर्वलाई लोसर (मात्र शेर्पाहरुको पर्व) भनेर परिचय दिन ठीक नहोला । यदि वहाँको भनाईको ध्येय “ल्हो-क्षार” पूर्बी नेपालको मात्र चाड हो भने वहाँलाई थाहा नै हुनु पर्ने हो कि पूर्बीनेपालमा धेरै संख्यामा बसोबास गर्ने किराँती र्राई-लिम्बूहरुले यो चाडलाई खासै महत्व दिंदैनन् । अन्तः वहाँको परिभाषा अनुरुप यो चाड केवल पूर्बी नेपालतिरको चाड हो भन्नुमा कुनै तर्क छैन ।
सोही लेखमा प्रा. श्यामसुन्दर शेर्पा अगाडि लेख्नु हुन्छ- “गुरुङ र तामाङहरुले यस पर्वलाई ल्होक्षार र ल्होसार भनेर “लोसर” शब्दको वास्तविक अर्थलाई नै लोप गराएर अनर्थ लाग्नेगरी विकृत बनाई यो शेर्पा आदिवासीहरुको मौलिक चाड नभई आयात गरिएको चाड हो भनी दर्शाउन खोजेको देखिन्छ ।”प्रा. श्यामसुन्दर शेर्पाको माथिको भनाईले ल्हो-क्षार (नयाँ वर्गको सुरुवात) को अर्थ नै हराएको छ । वहाँको भनाई अनुसार लोसर अर्थात् “शेर्पाहरुको नयाँ वर्ष हो भन्ने अर्थ हुन्छ । तर वास्तवमा “ल्हो-क्षार” भनेको नयाँ वर्गको सुरुवात हो । यदि यो तथ्यलाई मनन गर्ने हो भने ल्होक्षार पर्व वर्ग (ल्हो) मा विश्वास गर्ने सम्पूर्ण जनजातिको साझा पर्व हो ।
हिन्दूशास्त्रहरुमा १२ वटा राशी भए जस्तै गुरुङ लगायतका थुप्रै आदिवासी जनजातिहरु १२ वटा वर्गहरुलाई मान्दछन् । प्रत्येक बाह्र महिनालाई एउटा वर्ग दिइएको हुन्छ अर्थात् मान्छन् । यसप्रकार बाह्र महिनाहरु बित्ने बित्तिकै नयाँ वर्ग (ल्हो) को सुरुवात हुन्छ । वर्ग फेरिने यस दिनलाई नै वर्ग फेर्ने दिन अथवा “ल्हो-क्षार” भनिन्छ । गुरुङ, तामाङ र थकाली भाषामा ‘ल्हो’ को अर्थ वर्ग र ‘क्षार’ को अर्थ नयाँ हुन्छ अर्थात् नयाँ वर्ग सुरु हुने पर्वलाई नै “ल्होक्षार” को रुपमा मनाउँछौं । त्यसकारण यस पर्वलाई लोसर, लोसार र ल्होसार नभनेर “ल्हो-क्षार” नामकरण गर्न उपयुक्त हुन आउँछ । तर समयक्रमसँगै “ल्हो-क्षार” को उच्चारण बिगरेर “ल्होसार” हुन गएको छ ।
शेर्पा, तामाङ र गुरुङ जस्ता बौद्धधर्मावलम्बीहरुले मनाउने चाड भएकोले यो चाडको बौर्द्धधर्मसित कुनै सम्बन्ध छ झैं लाग्दछ । त्यसमाथि यो चाडलाई चीनदेखि जापान र कोरियासम्म नयाँ वर्षो रुपमा धुमधामले मनाइने भएकोले पनि यस तथ्यलाई झन् बढी बल पुगेको छ । तर यथार्थमा ल्होक्षारको बौर्द्धधर्मसित कुनै सम्बन्ध छैन । हुन त यस प्रकारको किंवदन्तीहरु पनि प्रचलनमा छन् कि बुद्धभगवान्ले संसार त्याग्ने बेलामा सबै जीवजन्तुहरुलाई बोलाएका थिए ती मध्ये १२ वटा जनावरहरु (बाघ, बिरालो, गरुड, र्सप, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग, मुसा र गाई) भगवान् बुद्धलाई अन्तिम बिदाई गर्न आईपुगे । तिनै १२ वटा जनावरहरुलाई यी बाह्रवटा वर्गको परिचय प्रदान गरियो । तर यो एउटा जनविश्वास मात्र हो । बुद्ध भगवान्को यस संसारमा पदार्पण हुनअघि नै प्रकृतिपूजक जनजातिहरु बर्ग (ल्हो) हेर्ने गर्थे । उनले समयलाई विभिन्न १२ वटा वर्गमा विभाजन गरेका थिए । १२ वटा वर्ग (ल्हो) ले क्यालेण्डर अथवा पात्रोको काम दिन्थ्यो ।
यस दिन गुरुङहरु नयाँ पहिरानमा सजिएर मीठो खानपान गर्दछन् । थुप्रै ठाउँतिरका गुरुङहरु विशेष कुलपूजा गर्छन् । गुरुङजातिको संस्कृतिमा कुलपूजाको ठूलो महत्व छ । एकै खलकका दाजुभाई मिलेर एकै ठाउँमा कुलपूजा गर्छन् । यस प्रकार कुलपूजाले दाजुभाई बीच भ्रातृत्वको भावना जगाउन मदत गर्छ । प्रायः कुलपूजामा कुखुराको भाले चढाउने गर्दछन् । कुलपूजामा अरु कुलका मानिसलाई सामेल गर्दैनन् । कुलपूजाको पुजारी आफ्नै कुलको हुनु पर्दछ । आफ्नो परम्परा अनुसार कुलपूजा कसैले घरभित्र र कसैले बाहिर ओडार, रुखमुनि र नदीको किनारतिर गर्छन् । यसले पनि बोध हुन्छ कि गुरुङहरु प्रकृतिपूजक हुन् । यस दिन घरको मान्यजनबाट बेसार पानीमा भिजाएको काँचो धागो केटाहरुले नौ सरा नौ गाँठो र केटीहरुले सात सरा, सात गाँठो बाँधेर आशिर्वाद प्राप्त गर्छन् । हुन त बेसार पानीमा भिजाएको धागो त अन्य पूजाआजाको मौकामा पनि लगाइने गर्छन् । यसो गर्नले रोग-व्याधी, भूतप्रेत-शत्रुले छुन सक्दैन भन्ने जनविश्वास गुरुङहरुमा रहेको छ । यसले हरेक पाइलामा सफलता पनि प्राप्त गर्न सकिन्छ भन्ने मान्यता पौराणिक काल देखि नै रहिआएको छ । अचेल त ठाउँ-ठाउँमा अन्य थुप्रै कार्यक्रमहरु हुने गरेका छन् ।
ल्हो (वर्ग) हेर्ने चलनले गुरुङ समाजमा निकै ठूलो महत्व राख्दछ । उमेरको गणना गर्ने विधिदेखि लिएर कुनै मानिसको ग्रहदशा र शुभ-अशुभ सबै ल्हो (वर्ग) कै आधारमा तय गरिन्छ । विशेष विवाहको छिनोफानो हुन अघि कुन वर्गको केटाले कुन वर्गको केटीसित विवाह गर्न उचित हुन्छ भनेर निर्धारण गर्ने गरिन्छ । जस्तो कि बाघ वर्गसँग गाई, भेडा र बाँदर आदि वर्गले आपसमा विवाह नगर्नु भन्छन् । मुसा र बिरालो वर्गहरु बीच पनि वैवाहिक सम्बन्ध स्थापित नगर्नु नै उचित हुन्छ भन्छन् । यसप्रकार अन्य थुप्रै धार्मिक तथा सामाजिक क्रियाकलापहरुमा (ल्हो) वर्गको ज्ञान अति आवश्यक छ ।
नेपालमा तीन प्रकारका ल्होक्षार प्रचलनमा छन् । गुरुङ्हरु पौषशुक्ल प्रतिपदाका दिन “तोला ल्होक्षार” मनाउँछन् । यस बेला पृथ्वीले सुर्यलाई परिक्रमा गर्ने क्रममा सुर्य पृथ्वीको दक्षिण सीमानामा पुगेर उत्तरतिर फर्किन्छ । जस कारण वर्ष भरिको सबैभन्दा लामो रात पुष १४ गतेको रात हुन जान्छ । गुरुङहरुले १५ पुष देखि नयाँ ल्होको स्वागत गर्दै १५ पुषमा ल्होक्षार मनाउने चलन सान्दर्भिक हुन आउँछ । यसले ज्ञात हुन्छ कि गुरुङ समुदायले हचुवाको भरमा १५ पुषको दिन ल्होक्षार मनाउने गरेका छैनन् । समय-चक्रको परिवर्तनमा पुष १५ को विशेष महत्व छ । दोस्रो प्रकारको ल्होक्षारलाई “सोनम ल्होक्षार” भन्छन् । सोनमको अर्थ तिब्बती भाषामा ‘पवित्र’ हुन्छ । यस ल्होक्षारलाई नेपालमा तामाङ समुदायले धुमधामका साथ माघ शुक्लप्रतिपदाको दिनमा मान्छन् । यो ल्होक्षार विशेष किसानहरुको ल्होक्षार भनेर मनाइने गरेका छन् । किनभने माघ महिनाभरि कृषिजन्य क्रियाकलापहरु सुरु हुने समय हो । र, किसानहरु यस पर्वलाई बालीनाली राम्रो होस भन्ने शुभेच्छाका साथ पूजाआजागरी मनाउँछन् । तेस्रो प्रकारको ल्होक्षारलाई ‘ग्याल्पो “ल्होक्षार” भनिन्छ । नेपालका शेर्पा समुदायले यस ल्होक्षारलाई फाल्गुन शुक्लप्रतिपदाको दिन मनाउने गरेका छन् । तिब्बती भाषामा ‘ग्याल्पो’ शब्दको अर्थ ‘राजा’ हुन्छ । त्यसकारण यस ल्होक्षारलाई राजाहरुको ल्होक्षार पनि भन्दछन् ।
यस प्रकार नेपालमा विभिन्न प्रकारका “ल्होक्षार” विभिन्न जातजातिले विभिन्न समयमा मनाउँदै आएका छन् । यिनको आफ्नै विशेष धार्मिक, समाजिक र साँस्कृतिक महत्व छन् । तर गुरुङहरुले पुष १५ को दिन मान्ने “ल्होक्षार” कुनै किसान समुदायले मात्र मनाउने अथवा राजकीय वर्गले मात्र मान्ने ल्होक्षार होइन । यो सबै तहका गुरुङले हर्षोल्लासका साथ मनाइने चाड हो जसले नयाँ (ल्हो) वर्गको सुरुवातको संकेत दिन्छ । वर्ग फेरिने यस दिनलाई नै वर्ग फेर्ने दिन अथवा “ल्हो-क्षार” भनिन्छ । यसको आफ्नै विशिष्ट महत्व छ । यस दिन गुरुङहरुले आ-आफ्ना पुर्खापूर्वजलाई स्मरणगरी आशिर्वाद थापेर नयाँ ल्होको साथ जीवनको बाटोमा अघि बढ्छन् । यो नै गुरुङहरुको मौलिक संस्कार र संस्कृति पनि हो । साँस्कृतिक पुनरजागरणको यस बेला हर प्रकारले पछाडि परेका गुरुङहरुले आफ्नो पहिचान र अस्तित्वको खोजी गर्न आफ्नो मौलिक चार्डपर्वको संरक्षण आवश्यक भएर आएको छ । र सबै भन्दा महत्वपूर्ण कुरो त के भने सक्दो यस पर्वलाई “ल्हो-क्षार” भन्नु नै उपयुक्त हुन आउँछ । हुनत समयसँगै यसको उच्चारणमा पनि थुप्रै खालका परिवर्तनहरु (लोसर, लोसार, ल्होसार) आए तर पनि यो पर्वको सही अर्थ दिने शब्द त “ल्हो-क्षार” नै हो । तपाइँहरुलाई कस्तो लाग्छ ?
चन्द्र गुरुङ, काठमाण्डौं, नेपाल
chandugurung@yahoo.com
Visitors